तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले पहिलो पटक आधिकारिक रुपमै नगर प्रहरी भर्ना गरेको छ । ऐन बनाएर तुलसीपुरले स्थायी प्रकृतिका १५ जना नगर प्रहरी भर्ना गरेको हो । आफ्नै नगरी प्रहरी भर्ना बारे पूर्व मेयर घनश्याम पाण्डेकै पालमा ऐन तयार भएको थियो । अहिलेका मेयर टीकाराम खड्काले त्यही ऐनमा टेकेर स्थायी प्रकृतिका नगर प्रहरी भर्ना गरेका हुन । ४० दिनको तालिम पछि नगर प्रहरीलाई सोमबार दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान कार्यक्रम प्रदेशसभा सदस्य रेखा शर्माको प्रमुख आथित्यता र मेयर टीकाराम खड्काको अध्यक्षतमा भएको हो ।
दिक्षान्त कार्यक्रमलाई उपमेयर श्यानी चौधरी, सुशासन नगर प्रबक्ता माधव वली, सुशासन समितिका संयोजक धर्मराज वली, नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगाएतले सम्बोधन गरेका थिए । बक्ताहरुले नगर प्रहरीलाई सफल कार्यकालको शुभकामना दिदै तोकिएको जिम्मेवारी निष्ठापूर्वक पुरा गर्न तर्फ लाग्न आग्रह गरेका थिए । नगर प्रहरी प्रमुख नायव निरीक्षक ऋषिराज पछाँइसहित १५ जना नगर प्रहरीलाई दिक्षान्त समरोहमा दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
पछाँई नेतृत्वको टोलीमा नगर असइ सञ्जय गिरी, नगर हवल्दार द्धय बिष्णु चौधरी र बिनोद रेउलेसहित ११ जना नगर प्रहरी जवान छन् । अब तुलसीपुरले उनीहरुका लागि सेवा सुविधा बाफत मासिक चार लाख रुपैंया अतिरिक्त खर्च बेहोर्नु पर्ने भएको छ । बार्षिक झन्डै आधा करोड उनीहरुको सेवा सुविधाका लागि खर्च गर्नु पर्ने भएको छ । नगर प्रहरीको सेवा सुविधा पद अनुसार नेपाल प्रहरी समान हुन्छ । नगर प्रहरीलाई ४० दिने प्राथमिक कवाज तालिम इलाका प्रहरी कार्यालय तुलसीपुरका वरिष्ट प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठको टोलीले दिएको थियो ।
तुलसीपुरस्थित सशस्त्र प्रहरीको टोलीले पनि उनीहरुलाई तालिम दिएको थियो । ४० दिने तालिममा दश लाख जति खर्च भएको स्रोतले जानकारी दिएको छ ।