सल्यान । सल्यानमा पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । विभिन्न खोलामा चालु आर्थिक वर्षमा मात्र सात वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पूर्वाधार विकास कार्यालय सल्यानमार्फत कार्यान्वयन हुने गरी झोलुङ्गे पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले एक करोड ७० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिकामा ३,बागचौर नगरपालिकामा १, कालीमाटी गाउँपालिकामा २ र त्रिवेणी गाउँपालिकामा १ पुल निर्माण गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नवीन थापाका अनुसार बनगाड कुपिण्डे नगरपालिका–५ मा राउचे सेरा -शङ्खपिल, बालुवासङ्ग्रहीखोलामा गहरा – स्कुलदेखि गैरीकटेरी जोड्ने पुल तथा वडा नं. ६ मा चुकेपाखा -मानडाँडा भलाखर्कमा पुल निर्माण गरिने छ ।
बागचौर नगरपालिका–३ मा पर्ने थारचौर, कालीमाटी गाउँपालिका–७ को घुइयाँबारी–गँगटे जोड्ने पुल र वडा नं. ४ मा खारखोला–ठाकुर जोड्ने पुल, त्रिवेणी गाउँपालिकामा खारेबास–राङ्सी जोड्ने झोलुङ्गे पुल निर्माण गरिने छ ।