फाल्गुन,२
सिम्ता । १६ औं सुर्खेत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएकोछ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताएका छन् ।
आज १६ औँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरूले आफ्नो मेहनतले देशलाई नै विश्वसामु चिनाएको मुख्यमन्त्री कँडेलले बताए ।
विद्यालयमा रहेका हरेक विद्यार्थीहरूलाई खेलकुदका माध्यम असल नागरिक बनाउन सकिने हुँदा खेलकुद महत्त्वका साथ सबैले हेर्नू पर्ने मुख्यमन्त्री कँडेलले बताए । खेल क्षेत्रलगाएतका अन्य क्षेत्रको विकास गर्नका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेल, गाउँपालिकाका अध्यक्ष एन बहादुर चन्द र पालिका उपाध्यक्ष, बुद्धिजीवी,पत्रकार लगायतको सहभागी रहेको थियो । कार्यक्रमको आयोजना जिल्ला खेलकुद समिति सुर्खेतले गरेको थियो । बागेश्वरी मावि सिम्ता -६ राकमको सह आयोजना रहेकोछ ।
सिम्ता गाउँपालिका – ६ राकममा आयोजना गरिएको उक्त रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका सबै पालिकाहरूले सहभागिता जनाएका छन ।