सल्यान – सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। रुकुम पश्चिमबाट दाङको तुलसीपुर हुँदै नेपालगन्ज तर्फ जाँदै गरेको लु २ ख ६२७१ नम्बरको फोर्स गाडी शुक्रबार बिहान १० बजेतिर बागचौर नगरपालिका–५, धारपानी नजिकै राप्ती राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ का ४२ वर्षीय डम्मर विक, चौरजहारी नगरपालिका–१४ का २२ वर्षीय हर्कबहादुर विक, ३० वर्षीय लोकेन्द्र केसी, त्रिवेणी गाउँपालिका–८ का २० वर्षीय हितेसी खड्का र ७ वर्षीय कपिल खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका सबैलाई स्थानीय, यातायात व्यवसायी र प्रहरीद्वारा तत्काल उद्धार गरी सहज पोलिक्लिनिक, बागचौरमा उपचारका लागि ल्याइएको र सबैको त्यहीँ उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए। उनका अनुसार फोर्स गाडी अनियन्त्रित भई सडकमै दुर्घटनामा परेको थियो। गाडीमा १३ जना सवार थिए।
गाडी चालक बागचौर नगरपालिका–४ का ३५ वर्षीय इन्द्र ओली फरार रहेको र उनको खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।